मकवानपुर उद्योग वाणिज्य संघले सोमबार नेपाल पत्रकार महासंघ, मकवानपुरका नव निर्वाचित कार्यसमिति र प्रदेश तथा केन्द्रमा निर्वाचित मकवानपुर जिल्लाका पत्रकारहरुको सम्मानमा स्वागत कार्यक्रम गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघद्धारा पल्पसा परिसरमा निर्माणसम्पन्न हुने क्रममा रहेको पल्पसा सदनमा स्वागत कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवाल र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो भने संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित पत्रकारहरुलाई अबिर र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममै मउवासंघको तर्फबाट रु. ७५,०००।– रकम नेपाल पत्रकार महासंघ मकवानपुरको उपचार कोषको लागि सहयोग गरिएको थियो ।
स्वागत कार्यक्रमकै बीचमा संघका साधारण सदस्य तथा पूराना व्यवसायी दिपचन्द्र अग्रवालले रु. १,०१,१११।– (अक्षरेपि रु. एकलाख एकहजार एकसय एघार मात्र) मउवासंघको पल्पसा सदन निर्माणको लागि सहयोग गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यद्वय भानुभक्त आचार्य र सुवर्णलाल श्रेष्ठ, प्रदेश परिषद सदस्यद्वय सुनिल सिवाकोटी र रविन्द्र गौतमलगायत नेपाल पत्रकार महासंघ मकवानपुरका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठसहित वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य तथा संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।