भारतीय दुतावास र नेपालमा विभिन्न संघसंस्था मिलेर गरिने कामबाट नेपाललाई व्यवसायिक तथा सामाजिक सम्बन्ध विस्तारमा निकै सहयोग पुग्ने निष्कर्ष निकालिएको छ । भारतीय महावाणिज्य दुतावास वीरगञ्ज र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शक्रबार हेटौंडामा भएको नेपाल भारत व्यावसायिक अन्तरक्रिया तथा प्रदर्शनी कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको उत्पादन भारत निर्यात गर्दा दिदेशीय सम्बन्ध मजबुत हुनुको साथै आर्थिक लाभ पनि लिन सकिने बताउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत अञ्जु रञ्जनले नेपालमा उत्पादन हुने सामानहरु निकै गुणस्तर र आकर्षणयुक्त हुने भन्दै त्यसले भारतीय बजारमा निकै राम्रो स्थान पाउने बताउनुभयो । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीका साथै मैनबत्तिको विशेष माग हुने बताउंदै रञ्जनले नेपाली उत्पादनको भारतमा बजार विस्तार गर्दा दिदेशीय सम्बन्ध मजबुत बन्दै जानेसमेत विश्वास गर्नुभयो । नेपालको स्रोत साधनको उपयोग गरी उत्पादन बढाउन सके युवाहरुलाई स्वराजगार बनाई वैदेशिक रोजगारीमाजानुपर्ने बाध्यता टर्ने उनको भनाइ थियो । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउन रञ्जनको सुझाव छ । नेपाल जलस्रोतको धनी भएर पनि प्रयाप्त जलविद्युत उत्पादन गर्न नसकेको भन्दै रञ्जनले नेपालले जलविद्यत् उत्पादन गरी भारतलाई बेच्न सके व्यापार घाटासमेत कम हुने बताउनुभयो ।
मकवानपुरेराजनीतिक दलहरुको तर्फबाट बोल्दै नेपाली कांग्रेसका सभापति रघुरमण न्यौपानेले नेपाली उत्पादन भारतीय बजारमा चिनाउन सके व्यावसायिक रुपमा निकै फाइदाजनक हुने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघ र भारतीय महावाणिज्य दुतावास मिलेर हेटौंडामा प्रदर्शनी मेला गरेकोमा खुसी व्यक्त गर्दै व्यावसायिक सम्बन्ध विस्तारको कोसेढुंगो हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले नेपाल भारतको साझेदारीमा विभिन्न काम बेलाबेला हुने गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । विशेषतः भारतले शैक्षिक तथा औद्योगिक विकासमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । आगामी दिनमा व्यावसायिक र सामाजिक सम्बन्ध विस्तारमा नेपालले अझै जोड गनुपर्ने थापाको भनाइ थियो ।
मकवानुपर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उत्तमशर्मा ढकालले नेपाल भारतबीच सामान आयात निर्यात गर्न विभिन्न सैदान्तिक समस्या रहेको स्पष्ट पार्नुभयो । व्यवसायी र उद्योगीहरुबीचको समस्याको विषयमा दिपक्षीय छलफल गरी निकास निकाल्नुपर्नेमा ढकालको जोड थियो । संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठ, होटल एशोसियशन मकवानपुरका अध्यक्ष भागिरथ शर्मा, संघका उपाध्यक्ष प्रकाश ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।