मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट बुधबार ३ जना संक्रमण मुक्त भएकालाई विदाई गरिएको छ । हेटौैंडा अस्पतालका प्रमुख मेसु डाक्टर रामचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम गरिएको थियो । हेल्प डेस्कका सदस्य सरोज खनालले संचालन गर्नुभएको विदाई कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता र डाक्टर रामचन्द्र सापकोटाले मन्तव्य राख्नु भएको थियो । डाक्टर सापकोटाले संक्रमण मुक्त भएपनि २ हप्ता आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न र पोषिलो खानेकुराहरु खान सल्लाह दिनुभएको थियो । उहांले लक्षण हेरेर कोभिड संक्रमितहरुको उपचार हुने भएकोले संक्रमितहरु घरमै बस्नु उचित नभएको बताउनु भयो । अवस्था विग्रिसकेपछि अस्पताल आउंदा उपचार सम्भव नहुनेसम्मको खतरा रहने उहांको भनाई थियो । उहांले मकवानपुर उद्योग वाणिज्य संघले संकटको समयमा स्थलगतरुपमै खटी सेवा गर्ने गरेकोमा प्रशंसा गर्नुभएको थियो । आइसोलेशन संचालन गर्नु राम्रो काम भएको उहांले बताउनु भयो । पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका कार्यसमिति सदस्य कृष्ण ढुंगाना, लक्ष्मण सुवेदीलगायतले संक्रमण मुक्त भएकाहरुलाई विदाई गर्नुभएको थियो ।
बुधबार हेल्प डेस्कबाट एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा ५, पिप्ले निवासी एकजना बिरामीको लागि उक्त अक्सिजन सहयोग गरिएको हो ।
पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने व्यवस्था गरिएको छ । बुधबार संघका सचिव सन्तोष कुमार अर्यालको संयोजन रहेको थियो ।