News & Events »

श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न (२०७९ जेष्ठ २२)

FGD
मकवानपुरमा एक दिवशीय श्रम बजार सर्वेक्षण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा ELMS Operation Unit का Team Leader चन्द्रकान्त अधिकारीको सहजिकरणमा कार्यक्रम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल एशोसिएसन नेपालको संयुक्त सहकार्यमा श्रम बजार सर्वेक्षण कार्य भएको ELMS Operation Unit का Team Leader चन्द्रकान्त अधिकारीले कार्यक्रममा बताउनु भयो । कृषि, पर्यटन र निर्माण व्यवसायमा केन्द्रित रहेर सर्वेक्षण गरिएको उहाले जानकारी गराउनु भयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) संग समन्वय गरी रोजगार सुनिश्चित हुने श्रम क्षेत्रको लागि दक्ष श्रमशक्ति तयार गर्नुपर्ने उहांको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, होटल व्यवसायी तथा होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिस गोविन्द जोशी, उपाध्यक्ष कल्याण पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ मकवानपुरका अध्यक्ष गणेशहरी उप्रेती, वरिष्ठ उपाध्यक्ष सुवर्णलाल श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा ईन्जिनियरिड्ड वर्कसप संचालक प्रमोद सिंह रानाभाट, जेनेरेटर व्यवसायी तथा मउवासंघका उपाध्यक्ष उज्वल चौलागाई, उद्योगी तथा मउवासंघका महासचिव दिपक उप्रेती, निर्माण व्यवसायी तथा मउवासंघका कोषाध्यक्ष सन्तोष कुमार अर्याल, CNI LMI Unit का निमित्त Unit Coordinator संचिता चापागाई, ELMS सर्वेक्षणका मकवानपुर जिल्लाका फिल्ड सुपरभाइजर तथा मउवासंघका कार्यकारी सचिव पवन कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि सबै व्यवसायिक प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले देशका विभिन्न जिल्लाहरुमा सय किसान अभियान चलिरहेको, कृृषि कार्यको लागि आफूले पनि लगानी गरी उत्पादनतर्फ लागेको, वैदेशिक भ्रमणहरुबाट अनुभव लिंदै कृषिलाई सम्भावनायुक्त बनाउन प्रयत्नशील रहेको बताउनु भएको थियो ।
कार्यक्रममा निर्माण, कृषि तथा पर्यटन क्षेत्रको विकास सम्भावनायुक्त रहेको चर्चा गरिएको छ । हाल आधुनिक नव निर्माण कार्यहरु उच्चदरमा बढिरहेकोले दक्षताको विविधता आवश्यक देखिएको छ । प्रविधियुक्त निर्माण कार्यको लागि दक्ष कामदारको आवश्यक्ता टड्कारो रुपमा देखिएको र निर्माण व्यवसायतर्फ सजावटको क्षेत्रमा दक्ष कामदारको आवश्यक्ता बढ्दै गएको छलफल गरिएको थियो । इज्रायल, कोरियाजस्ता देशहरुले कृषिमा गुणात्मक प्रगति गरेकोले नेपालमा पनि कृषि क्षेत्रमा प्रविधि भित्र्याई रोजगारी सिर्जन गर्न सकिने सम्भावना बारे छलफल गरिएको थियो । त्यसैगरी पर्यटन क्षेत्रअन्तर्गत होटल व्यवसायमा नेपाली मौलिकताको परिकार सहि हिसावले बनाउने दक्ष श्रमशक्ति नभएको बारे छलफल गरिएको थियो । होटल व्यवसायमा स्थानीय कृषि उपजको परिकारलाई प्राथमिकता दिएमा स्थानीय नागरिक स्वरोजगार हुने अवसर मिल्ने बताइएको थियो । जैविक मल उत्पादन बारे पनि चर्चा गरिएको थियो ।
तालिम प्रदायक निकायहरुबाट एकैखालको तालिम पटक–पटक दिनेगरेको पाइएको, उपलब्ध प्रशिक्षकको ज्ञान अनुसार मात्र तालिम छनौट वा स्वीकृत गर्ने गरेको, नया क्षेत्र पहिचान र सोही अनुसारको प्रशिक्षक खोजी वा तयारी गर्नेतर्फ तालिम प्रदायक निकायहरुले खास्सै मेहनत गरेको नदेखिएको, औद्योगिक प्राविधिकतर्फ दक्ष श्रमिकको अभावमा भारतीय श्रमिक प्रयोग गरिरहन परेको, सबै श्रमलाई प्रतिष्ठित मान्ने वातावरण निर्माण आवश्यक रहेको, राज्यबाट नै तालिमको लागि उपयुक्त पाठ्य सामग्री तयार गरिनु पर्ने, नीतिगत तहमा राज्यबाट धेरै सुधारका काम गर्नुपर्ने जस्ता विषयहरुमा चर्चा गरिएको थियो ।
त्यसैगरी तालिम प्रदायक निकायले उद्यमीको आवश्यक्ता अनुसार दक्ष श्रमशक्ति निर्माण गर्न पर्याप्त पहल नलिएको र आफ्नो पूर्व निर्धारित तालिमको सूची तयार गरी त्यसैमा सिमित हुने गरेको छलफलको क्रममा चर्चा गरिएको थियो । साथै बैदेशिक रोजगारबाट फर्किएका जनशक्तिको सिपलाई उपयोग गर्ने नीति लिई योजनाहरु बनाइनु पर्ने बताइएको थियो । रोजगारदाताले पनि उपलब्ध श्रमिकलाई पूर्ण रुपमा दक्ष बनाउन आवश्यक लगानी गर्नुपर्ने, रोजगारदतासंग श्रमिक असन्तुष्ट र श्रमिकसंग रोजगारदाता असन्तुष्ट रहनुपर्ने परिस्थिति हटाउन पर्ने छलफल गरिएको थियो ।

सर्वेक्षणले नेपाल सरकारका सम्बन्धित निकायहरुलाईसमेत योजना तर्जुमा गर्न भावि दिनहरुमा सहयोगी हुने विश्वास लिइएको छ । त्यसैगरी रोजगारदाता र कामदारबीच उपयुक्त श्रम सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

fgd1

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback