News & Events »

कौशी–करेशा खेती, च्याऊ खेती तथा मस्यौरा उत्पादन सम्बन्धी तीन दिने तालिम सम्पन्न (२०७७ आश्विन २७)

Training11

मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा ३ (तीन) दिने कौशी–करेशा खेती, च्याउ खेती तथा मस्यौरा उत्पादन तालिम सम्पन्न भएको छ । आश्विन २५ गते तालिम कार्यक्रमको उद्घाटन समारोहमा महिला उद्यमी विकास समितिका सभापति नीलम बैद्यको सभापतित्व र हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुदै सभापति बैद्यले लकडाउन तथा निषेधाज्ञापछि महिलाहरुलाई आयमूलक कार्यतर्फ उत्प्रेरित गर्ने पहलकोरुपमा तालिम सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमका अतिथि तथा संघका अध्यक्ष कृष्ण कटुवालले तालिमबाट प्राप्त हुने ज्ञानले कौशी करेशा खेतीलाई अगाडी बढाएर आयआर्जनमा क्रियाशील भएमामात्र तालिमको उद्देश्य पुरा हुने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तथा हेउमनपाका उपप्रमुख लामाले लकडाउन र निषेधाज्ञाका कारण महिलाहरु घरभित्र नै बसेर लामो समय लडेको तर निरन्तर त्यो सम्भावना नभएकोले अर्थोपार्जनका तालिम सञ्चालन गर्न नगरपालिकाले सघाएको बताउनुभयो । तरकारी किन्न घरबाहिर जादा पनि रोग सर्न सक्ने भएकाले अब घरकरेशामै तरकारी उत्पादन गरी उपभोग गर्ने तथा बिक्री गरी आयआर्जन गर्न उहाले तालिमका सबै सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाले तालिमपश्चात सिकेका कुराहरु लागू गरे/नगरेको पनि अनुगमन गर्ने बताउनुभयो । साथै तालिमको राम्रो उपयोग गर्दै व्यवसाय बृद्धि गर्न चाहने उद्यमीहरुलाई अनुदान सहयोग पनि उपलब्ध गराइने आश्वासन दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शाखा प्रमुख गंगा कुमारी चौलागाई तथा एकिकृत ग्रामिण विकास सेवाका अध्यक्ष सीता बिष्टको आतिथ्यता रहेको थियोभने मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठ, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरुलगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

 

Training13Training14Training15Training16
त्यसैगरी तालिमको औपचारिक समापन कार्यक्रमसहित ३ (तीन) दिने कौशी–करेशा खेती, च्याउ खेती तथा मस्यौरा उत्पादन तालिम आश्विन २७ गते समापन भएको छ । समापन कार्यक्रममा महिला उद्यमी विकास समितिका कोषाध्यक्ष अंकिता सुमार्गीको सभापतित्व र जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि भगवती पुडासैनीले उत्पादित तरकारी टोलसमुदायमा बिक्री गरी आम्दानी लिन सकिने र खरिद गर्ने उपभोक्ताले पनि ताजा र बिषाधीमुक्त तरकारी उपभोग गर्न पाउने भएकोले आफ्नो खाली समयको सदुपयोग गर्दै कौशी–करेशा खेती गर्नु उपयुक्त हुने बताउनुभयो । उहाले महिला उद्यमशीलताका लागि विभिन्न मन्त्रालयमा बजेट रहेको तर त्यो बजेट उपयोगमा ल्याउन नसकिएको बताउनुभयो । हाल मुख्यमन्त्री स्थानीयनै हुनुभएको र मन्त्रालयहरु पनि नजिक भएकोले केहीगर्न चाहनेहरुका लागि ठूलो अवसर हुनसक्ने बताउनुभयो । सरकारले कृषि उद्यमका लागि अनुदान दिने गरेपनि त्यो कृषिक्षेत्रमा उपयोग नगरी अन्यत्र प्रयोग भएकाले तालिम सहभागीहरुलाई इमान्दारीताका साथ ठूलोस्तरमा उद्यम गर्न चाहे आफूले सघाउन सक्ने पनि बताउनुभयो ।
तालिममा एकिकृत ग्रामिण विकास सेवाका प्राविधिक अमित ढुंगानाले कौशी–करेशा तथा च्याउ खेतीको बारेमा प्रशिक्षण दिनुभएको थियो भने उहालाई सपना आचार्यले सघाउनु भएको थियो । त्यसैगरी महिला उद्यमी तथा प्रशिक्षक सुचना श्रेष्ठले मस्यौरा उत्पादन सम्बन्धी तालिम दिनुभएको थियो ।
समापन कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिसस उपप्रमुख भगवती पुडासैनीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रमका सभापति अंकिता सुमार्गीले प्रमुख अतिथिलाई मायाको चिनो साथै प्रशिक्षकहरुलाई कदरपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Training12
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा समापन मन्तव्य राख्नुहुदै कार्यक्रमका सभापति अंकिता सुमार्गीले बिषाधीयुक्त तरकारी बाध्यतापूर्वक खानपरिरहेको अवस्थामा घरमै थोरै क्षेत्रमा पनि उत्पादन गर्न सकिने गरी तालिमबाट ज्ञान पाउनु उपलब्धीमूलक रहेको बताउनु भयो । तालिम संयोजक निलम देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, संघका सचिव सन्तोष अर्याल, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरुलगायत हेटौंडाका विभिन्न वडाबाट महिलाहरुको समापन कार्यक्रममा सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback