News & Events »

महोत्सव २०७९ को हरहिसाव सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न (२०८० जेष्ठ ५)

Press Meet1पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले महोत्सवको हरहिसाव बारे निम्नानुसार जानकारी गराउनु हुंदै पत्रकारहरुबाट राखिएको जिज्ञासा उपर जवाफ दिनु भएको थियो ।

उद्योगी/व्यवसायीहरुको पेशगत हीतको लागि मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई आफ्ना गतिविधिहरु संचालन गरिरहेको यस संघ वि. सं. २०१८ सालदेखि क्रियाशील र वि.सं. २०२३ सालमा विधिवत दर्ता भई निरन्तर संचालनमा रहेको छ । यस संघ जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, उद्योग, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्य रहेको गैरनाफामूलक परोपकारी संस्थाको रुपमा रहीआएको छ । प्रारम्भमा हेटौंडा व्यापार संघ नामाकरण भएपनि वि.सं. २०२५ सालमा नाम परिवर्तित भई मकवानपुर उद्योग वाणिज्य संघ रहन गएको यस संघले जिल्लामा रहेका सदस्य तथा गैरसदस्य उद्योगी/व्यवसायीहरुको सुरक्षाको लागि आवश्यक पैरवीहरु गर्दै आएको छ ।

मकवानपुर जिल्लाको व्यापार व्यवसाय विस्तार तथा प्रवद्र्धन गर्न नियमितरुपमा सूचनामूलक कार्यक्रम, तालिम, गोष्ठी आदी कार्यक्रमहरु संचालन तथा समन्वय गर्दै आएको छ । साथसाथै जिल्लामा भएका औद्योगिक हड्ताल, मजदुर मालिक विवाद जस्ता समस्याहरु मध्यस्थतामार्फत निराकरण तथा सामाजिक हितका लागि उल्लेखनीय क्रियाकलापहरु सम्पादन गर्दै आएको छ ।
सोही क्रममा व्यवसायको विस्तार, सम्भावित ग्राहकहरुसंग छलफल, नयाँ वस्तु एवम् सेवाहरुको प्रवद्र्धन, नयां उद्यमीहरुलाई प्रोत्साहित गर्ने र समग्रमा उद्योग तथा व्यापारमार्फत यस क्षेत्रकै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पु-याउने उद्देश्यका साथ यस संघद्वारा विभिन्न समयमा मेला, प्रदर्शनी तथा व्यापार प्रवद्र्धनका कृयाकलापहरु गर्दै आएको छ । वि. सं. २०४२ सालमा तत्कालीन अध्यक्ष नारायणप्रसाद शर्माको नेतृत्वमा सम्भवत नेपालकै पहिलो औद्योगिक व्यापार मेला २०४२ सम्पन्न गरिएको थियो । सोपश्चात मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा बि.सं. २०४३, २०५३, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो भने बि.सं. २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७०, २०७२ र २०७५ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न भएका थिए ।
यस पटक पनि बागमती प्रदेशका विभिन्न मन्त्रालय र मकवानपुर जिल्लाका स्थानीय तहहरुको सहयोगमा वि.सं. २०७९ माघ ११ गतेदेखि २३ गतेसम्म हेटौंडा–१०, टिसिएन चौरमा “१०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९” आयोजना गरी सफलतापूर्वक सम्पन्न भएको यहांहरुमा अवगत नै छ ।
महोत्सवलाई आकर्षणयुक्त बनाउन बाल उद्यानदेखि दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कला प्रस्तुति रहेको थियो । महोत्सवमा देशभरबाट कृषि, उद्योग, व्यवसाय, निर्माण, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका स्टलहरु रहेको विदितै छ । महोत्सवमा व्यवसायी, उद्योगी, उपभोक्ता, सरकारी निकाय, संघ/संस्था, अनुसन्धानकर्ता र आमनागरिकसमेत एकै ठाउँमा जमघट भई प्रतिक्रिया, सुझाव आदानप्रदान हुंदा समग्रमा उद्यमशीलतामा टेवा पुगेको हाम्रो विश्वास रहेको छ । महोत्सवको प्रवद्र्धनको लागि यहांहरुकै सहयोगमा स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियासमेतबाट प्रचारप्रसार गरिएको अवगत नै छ ।

Press Meet2
महोत्सवले संघको आयमा केही योगदान पुग्नुका साथसाथै राष्ट्रव्यापी रुपमा मकवानपुर जिल्लालाई पहिचान दिने र जिल्लाको गरिमा बढ्ने हाम्रो बुझाई रहेकाले हामीले महोत्सवलाई आफ्नो नियमित कार्यसूचीमा राख्दै मेला/महोत्सव आयोजना गर्दै आएका छौं । जसमा सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय मकवानपुर जिल्लावासी, दर्शक, प्रदर्शक, प्रायोजक, पत्रकार, सुरक्षा निकायलगायत सम्पूर्णको साथ तथा सहयोगको प्रतिफल हाम्रो १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सफलरुपमा सम्पन्न भएको छ । तसर्थ हामी सबैलाई एकमुष्ट रुपमा धन्यवाद ज्ञापन गर्दछौ ।
संघले आयोजना गरेका महोत्सवको आयबाट संस्थागत खर्च व्यवस्थापनपश्चात गर्ने अर्को महत्वपूर्ण खर्च क्षेत्र भनेको सामाजिक परोपकारी कार्य नै हो । तसर्थ संघले गरेको आम्दानी संघमै सिमित नभई समाजमा वितरण हुनेभएकाले यसलाई थप सकारात्मक रुपमा लिन सकिने हाम्रो बुझाई रहेको छ ।
संघले यस पटक महोत्सवबाट टिडियस, भ्याट, आय करलगायतबाट १९ लाख रकम राज्यलाई राजश्व बुझाउन सफल भएको छ । महोत्सवमा केही स्टलहरु निःशुल्क, केही न्यून शुल्क र केही स्टलहरु सहुलियत दरमा हामीले उपलब्ध गराएका थियौं । महोत्सवबाट कुल रु. १,२१,४९,५७६।– (अक्षरेपि रु. एक करोड एक्काइस लाख उनानचास हजार पांच सय छैहत्तर मात्र) आम्दानी भएको थियो । खर्च तर्फ कुल रु. १,१३,९८,७७६।– (अक्षरेपि रु. एक करोड तेह्र लाख अन्ठानब्बे हजार सात सय छैहत्तर मात्र) भएको छ । फलस्वरुप रु. ७,५०,८००।– (अक्षरेपि रु. सात लाख पचास हजार आठ सय मात्र) बचत आम्दानी भएको छ । साथै प्रायोजकहरुबाट रु. ३२,८०,०००।– (अक्षरेपि रु. बत्तिस लाख अस्सी हजार मात्र) जिन्सीसमेत गरी प्राप्त हुने क्रममा रहेको छ ।

Press Meet3



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback