मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बीमा रकम हस्तान्तरण गरेको छ । मउवासंघ पश्चिम क्षेत्र समिति, मनहरीका सभापति नारायण सुवेदीको अध्यक्षता तथा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी बीमा रकम हस्तान्तरण गरिएको हो । मउवासंघमा आवद्ध मनहरीका व्यवसायी नानी बहादुर थिड्डको सडक दुर्घटानामा परि गत महिना मृत्यु भएकोले दुर्घटना बीमा बापतको रकम उहाको परिवारलाई हस्तान्तरण गरिएको हो । मनहरीका व्यवसायी, सोनी कस्मेटिक ईन्टरप्राइजेजका प्रोपाईटर नानी बहादुर थिड्डको गत श्रावण १२ गते बिहान कारको ठक्करबाट घाइते भई उपचारको क्रममा श्रावण १३ गते चितवन मेडिकल कलेजमा उहाको मृत्यु भएको थियो । संघले आफ्ना सदस्यहरुको प्रति सदस्य रु. ५ लाखको दुर्घटना मृत्यु बीमा गरेको थियो । त्यसैबाट सो सुविधा प्रदान गरिएको हो ।
नेपाल सरकारको बीमा नीतिको कारण सयौं प्रतिशतले प्रिमियम बढेकोले अब सदस्यहरुको दुर्घटनाबाट मृत्यु भएमा संघको हितकोषबाट परिवारलाई रु. २ लाख मात्र दिने प्रवन्ध गरिएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा मउवासंघका कोषाध्यक्ष सन्तोष कुमार अर्याल, मउवासंघ पश्चिम क्षेत्र समितिका वरिष्ठ उपसभापति गणेश मानन्धरलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।