संघमा नयाँ नेतृत्व
मकवानपुर उद्योग वाणिज्य संघको मिति २०६८ माघ ६, ७ र ८ गते सम्पन्न ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचनले भुवनलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिनु भएका श्रेष्ठले आफ्ना प्रत्यासी शर्मिला डंगोललाई पराजित गर्नुभई विजय हात पार्नुभएको हो । निर्वाचन परिणाम लगत्तै सोमबार एक कार्यक्रमको आयोजना गरी विजयी नयाँ कार्यसमितिलाई सपथग्रहण र पदस्थापना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यसका लागि अग्रजहरुले गरेका राम्रा कामको निरन्तरता दिंदै सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले आफूलाई विजयी गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकाललाई सफल बनाउन आवश्यक सहयोग पु¥याउन समेत आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्नु हुँदै निवर्तमान अध्यक्ष अरुणराज सुमार्गीले नयाँ कार्यसमितिले आफ्नो सहयोग र भूमिकाको आवश्यकता ठानेमा त्यसका लागि आफू सदैव तयार रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष पदका प्रत्यासी शर्मिला डंगोलले चुनावी परिणामलाई स्वीकार गर्दै आफू पराजित भएतापनि आगामी दिनमा संघ र उद्योगी व्यवसायीहरुको हक हितका पक्षम काम गर्न नयाँ कार्यसमितिको साथमै रहने प्रतिबद्धता जाहेर गर्नुभयो । संघको ८ गते सम्पन्न निर्वाचनबाट वाणिज्यतफ उपाध्यक्षमा राजकुमार न्यौपाने र एशोसियटतर्फ धु्रवप्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ भने उद्योगतरफ प्रकाश ढकाल मतदान प्रकृयाबाट चयन हुनुभएको छ । वाणिज्यतर्फ सदस्यहरुमा दीपकशर्मा ढकाल, अनिल अग्रवाल, सुशिलप्रसाद सेनुरिया बानियाँ, कृष्णकुमार गुप्ता अग्रवाल, महेन्द्र राउत र दिवस पराजुली विजयी हुनुभएको छ । वाणिज्यतर्फ नै महिला आरक्षणतर्फ सुशिला पाण्डे मानन्धर निर्वाचित हुनुभएको छ । एशोसियटतर्फ सदस्यहरुमा कृष्ण कटुवाल, विष्णु खनाल र गणेश भेटवाल विजयी हुनुभएको छ भने उद्योगतर्फ सदस्यहरुमा लवशेर विष्ट, प्रमोद सिंह राणाभाट, नन्दुकृष्ण श्रेष्ठ र माधव न्यौपाने निर्वाचित हुनुभएको छ । उद्योगतर्फ महिला आरक्षणमा रेणु ज्ञवाली, वस्तुगततर्फ सदस्यपदमा यमबहादुर सिलवाल र कृष्णबहादुर कार्की, एशोसियटतर्फ बहुराष्ट्रिय सदस्य आरक्षणमा अम्बरबहादुर थापा र हेटौंडा औद्योगिक क्षेत्रबाट नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । मउवासंघका पूर्व अध्यक्ष हिट्लर विशेतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत तथा संघका कानूनी सल्लाहकार रामनारायण विंडारीले अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराउनुभएको थियो भने अन्य निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष श्रेष्ठले सपथग्रहण गराउनु भएको थियो । |
संघको ४५ औं वार्षिक साधारण सभा हुने मकवानपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभा यही माघ ६, ७ र ८ गते हुने भएको छ । ४५ औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यको प्रमुख आतिथ्यमा हुनेछ । माघ ६ गते वार्षिक साधारण सभाको कार्यक्रम रहेको छ भने ७ गते उम्मेद्वारी मनोनयन तथा ८ गते निर्वाचन कार्यक्रम रहेको छ । वार्षिक साधारण सभामा महासंघका उपाध्यक्षहरुलगायत केन्द्रीय सदस्यहरु तथा जिल्ला/नगर उवासंघका अध्यक्षहरुको उपस्थिति रहनेछ । |