News & Events »

२५ मिटर सडक सम्बन्धमा छलफल

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन २४ गते आइतबार बाटोको दाया/बाया २५ मिटर सडक विस्तारले पार्ने समस्या सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छलफलमा संघका पूर्व अध्यक्ष र २५ मिटर सडक समस्या समाधानका लागि लामो समय व्यतित गरिसक्नु भएका उत्तमशर्मा ढकालज्युले विषयबस्तुमाथि प्रकाश पार्नुहुँदै हालसम्म भएगरेका काम र प्रगति बारे चर्चा गर्नुभएको थियो । जस अन्तर्गत धेरै पटक सम्बन्धित मन्त्रलायमा डेलिगेशन गएको र संविधान सभाका सभाषद्ज्यूहरुसहितको टोली सम्बन्धित मन्त्रालयमा पटक पटक समस्या समाधानार्थ गइसकेको बारे जानकारी गराउनुभएको थियो । मन्त्रालयहरुबाट सकारात्मक प्रतिक्रिया आएपनि यसको दिगो समाधान हालसम्म नभएको उहाँको प्रतिक्रिया थियो । वैकल्पिक मार्गको रुपमा राप्ती किनारमा सडकको रेखाङ्कन कार्य भइसकेको र सोको स्तरीकरणको लागि सरकारबाट रातो कितावमासमेत उल्लेख भइसक्नुका साथै अन्तर्राष्ट्रिय प्रचलन अनुसार सहरको बीचबाट राजमार्ग बन्ने नगरेकोले यहाँपनि बन्न नहुने तर्क राख्नुभएको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेले समस्याको दिगो निकासको लागि घरधनि र व्यवसायीहरुको साझा धारणा हुनुपर्ने र यस समस्याको निकासको लागि आफू अहोरात्र लागि पर्ने वचनवद्धता व्यक्त गर्नु भएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले घरधनि र व्यवसायीहरुको यो साझा समस्यामा आफ्नो पनि एकैखालको समस्या रहेकोले ऐक्यवद्धता रहेको जानकारी गराएका थिए । त्यसैगरी जिम्मेवार राजनैतिक दलहरु, सभाषद्हरु र संघका पूर्व अध्यक्षज्युहरुलाई साथमा लिएर यो समस्याको स्थायी समाधानको लागि अघि बढ्नु पर्ने विचार संघका महासचिव महेन्द्र राउतले व्यक्त गरेका थिए ।
कार्यक्रमका सहभागिहरुले लालपूर्जा आफ्नो हातमा रहदारहदै, सरकारको सम्बन्धित निकायहरुमा कर तिर्दातिर्दै पनि डिभिजन सडक कार्यालयको सूचनामा अतिक्रमण भनि उल्लेख गर्नु आधारहिन र व्यक्तिवादी कुप्रचार रहेको जिकिर गरेका थिए । समय–समयमा २५ मिटर सडक विस्तार गर्ने कुरा चर्काएर घरधनि तथा व्यवसायीहरुलाई आतंकित पार्ने काम गलत भएको र नागरिकको आतंकरहित तवरले बस्न पाउने अधिकारसमेत कुण्ठित भएको विषय समेत उठेको थियो । हेटौंडाको मुल बजार भत्काउदा लाग्ने खर्च भन्दा वैकल्पिक मार्ग स्तरीकरण गर्दा कम खर्च लाग्ने समेत छलफलका वक्ताहरुको धारणा थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य सर्मिला डंगोल, कमल लामा, सुरेन्द्रमान प्रधान, शंकरलाल श्रेष्ठ, रामचन्द्र दहाल, नवराज न्यौपाने, विजेन्द्र अग्रवाल, एकालाल श्रेष्ठलगायतले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरु, घरधनि तथा व्यवसायी गरी ८० जनाको उपस्थिति रहेको थियो ।
उपरोक्त छलफलपश्चात तपसिल अनुसारको निश्कर्ष प्रस्तुत गरिएको थियो ।
राजनैतिक दलहरुसंगको सम्लग्नतामा सभाषद्हरु संग छलफल गर्ने ।
भौतिक योजना मन्त्रीको सुझावअनुसार संभाव्यता अध्ययन टोली गठन गर्ने ।
उत्तरी क्षेत्रको सडक २५ मिटरको लागि उपयुक्त नभएकोले भैसे नौविसे खण्डको सडकलाई पर्यटकीय मार्ग घोषणाको लागि पहल गर्ने ।
क्षतिपूर्ती सहित बाटो चौडा गर्न चाहेमा पर्याप्त समय प्रदान गरिनु पर्ने ।
स्थायी निकासको लागि मकवानपुर उद्योग वाणिज्य संघ निरन्तर क्रियाशिल रहने ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback