News & Events »

हेल्प डेस्कबाट सहयोग (२०७८ जेष्ठ ३०)

COVID Help Desk30.1

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सम्लग्नतामा निर्माण गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले आइतबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । हेल्प डेस्कको टोली आश्रममै गई सहयोग गरेको हो । सहयोग समग्रीमा खाद्य बस्तुहरु चामल १० बोरा, दाल १ बोरा र स्याऊ ५ किलो सहयोग गरिएको थियो । मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले आश्रमको कार्यक्रम संयोजन गर्नुभएको थियो । त्यसैगरी हेल्प डेस्कले गौरीटार आइसोलेशनलाई आइतबार सहयोग गरेको छ । हेल्प डेस्कको टोली गौरीटार आइसोलेशनमा गई सहयोग सामग्री हस्तान्तरण गरेको हो । सहयोग सामग्रीमा च्यावनप्रास, तेल, आयुर्वेदिक औषधी वितरण गरिएको थियो । मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले संयोजन गर्नुभएको गौरीटार आइसोलेशनको वितरण कार्यक्रममा कोभिड हेल्प डेस्क मकवानपुरका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्य ज्ञानेन्द्र कार्की, मउवासंघका विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, व्यवसायी राजेन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कोभिड हेल्प डेस्कबाट मनहरी गाउंपालिका, चकडीबाट ३ जना कोभिडका बिरामीहरुलाई अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ ।

हेल्प डेस्कलाई आइतबार नगद रु. ५०,०००।– सहयोग प्राप्त भएको छ । हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठले सहजिकरण गर्नुभएको रकम हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्लाका प्रतिष्ठित गायककार स्व. ज्ञानविर क्षेत्रीको स्मृतिमा श्रीमती कमला श्रेष्ठ क्षेत्री, छोराहरु कोसिस क्षेत्री र केतन क्षेत्रीबाट उपलब्ध गराइएको रकम हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठमार्फत हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा ११ का वडा अध्यक्ष गोकर्ण पराजुली, लगायत हेल्प डेस्कका अन्य अधिकारीहरुको उपस्थ्तिि रहेको थियो ।
हेल्प डेस्कबाट आफ्नो बिरामी आमाको लागि अक्सिजन सहयोग पाउदै आउनुभएका ठाकुर प्रसाद चौलागाईले पल्पसा आइसोलेशन सेन्टरमा रहनु भएका कोभिड संक्रमितहरुलाई आइतबार एक बोरा हरियो मकै उपलब्ध गराउनु भएको छ ।
द आर्ट अफ लिभिङ्ग नेपालबाट पिपिई २० थान, अक्सिमिटर ५ थान, ग्लोब्स ५ पाकेट, माक्स ५ पाकेट, एन ९५ माक्स ५० थान, फेस सिल २५ थान र साबुन ७२ थान सहयोग प्राप्त भएको छ । द आर्ट अफ लिभिङ्ग नेपालका मकवानपुर जिल्ला संयोजक दामोदर प्रसाद अटलले उक्त सहयोग सामग्रीहरु आइतबार हस्तान्तरण गरेका हन् । सहयोगको लागि पहल गर्नुहुने हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्तासहित हस्तान्तरण कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य बालकुमार मल्ल ठकुरी, द आर्ट अफ लिभिङ्गका नर्मदा अटल, सुजिना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
पल्पसा आइसोलेशन सेन्टर संचालनमा आएदेखि नै कृष्ण प्रणामी समाज मकवानपुरबाट भर्ना भएका सम्पूर्ण संक्रमित र व्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी तथा कामदारहरुको लागि बिहान र बेलुकाको खाना सहयोग हुंदै आएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार ४२ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये चारजना अस्पतालमा र ३८ जना घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback