News & Events »

पूनर्निर्माणमा निजी क्षेत्रको भूमिका बारे अन्तरक्रिया (२०७६ माघ २७)

Earthquake program1

मकवानपुर उद्योग बाणिज्य संघ र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित भूकम्पपछिको पुनर्निर्माणमा निजी क्षेत्रको योगदान र भूमिका विषयक एक दिवसीय अन्तक्र्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) का केन्द्रीय अध्यक्ष तथा पूर्व गृहसचिव खेमराज रेग्मीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान शाखाका प्रमूख विमल केपी, जिल्ला कार्यान्वयन ईकाइ शिक्षा शाखाका प्रमुख बद्रि बहादुर पाठक, जिल्ला कार्यान्वयन ईकाइ भवन निर्माण शाखा प्रमूख तुल्सिराम खर्वुजालगायतको आतिथ्यता रहेको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले भूकम्पबाट आफूहरु सबै प्रभावित भएकोमा तीन लाख अनुदान अत्यन्त न्यून भएको बताउनुहुदै २०७२ सालको महाभूकम्पलगत्तै संघले दाता निकायहरुकोसमेत सहयोग लिई पीडितहरुको घरदैलोमा सहयोग रकम र सामग्री पु-याएको सम्बन्धमा संक्षिप्तमा बताउनुभएको थियो । जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान शाखाका प्रमूख विमल केपीले मकवानपुर जिल्लामा पुनर्निर्माणको काम गर्ने वातावरण अत्यन्त सहज भएको बताउनुभयो । उहाले भूकम्प प्रभावितहरु मध्ये विकट तथा ग्रामिण क्षेत्रका प्रभावितहरुलाई रु. तीनलाख अनुदान प्रभावकारी भएपनि सहरी क्षेत्रमा उक्त रकम अपुग भएको स्वीकार गर्नुभयो । जिल्ला कार्यान्वयन ईकाइ शिक्षा शाखाका प्रमूख बद्रि बहादुर पाठकले जिल्लाका क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा ८२ प्रतिशत काम सम्पन्न भएको बताउनु भयो । जिल्ला कार्यान्वयन ईकाइ भवन निर्माण शाखा प्रमूख तुल्सिराम खर्वुजाले निजी आवास पुनर्निर्माणमा आवश्यक सहयोेग गर्दै आएको र विभिन्न स्थानमा ३३८ जना प्राविधिक खटाइएको बताउनुभयो । भूकम्प पीडितहरु एकैठाउमा बस्न सक्ने गरी मनहरी, कैलास, चित्लाङमा एकिकृत बस्ति बिकासकोलागि भवन निर्माणको कार्य भइरहेको उहाले जानकारी गराउनुभयो ।
कार्यक्रममा टिआई नेपालका केन्द्रीय अध्यक्ष खेमराज रेग्मी, संघका कोषाध्यक्ष अनिल अग्रवाल, कार्यसमिति सदस्य कृष्ण ढुङ्गाना, टिआई नेपालका सिनियर अफिसर दिनानाथ भट्टराई, मोबाइल एशोसिएसनका अध्यक्ष एसिस रिजाल, कपडा तथा तयारी पोशाक व्यवसायी संघका महासचिव जावेद हुसेनलगायतले मन्तव्य राखेका थिए भने जिल्ला आयोजना कार्यान्वयन ईकाइका तीनैजना प्रमुखहरुले छलफलमा उठेका जिज्ञासाहरु उपर जवाफ दिनुभएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवद्वय सन्तोष अर्याल र विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, प्रतिमा श्रेष्ठलगायत विभिन्न उद्योगका प्रतिनिधिहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपालको गोरखा जिल्लामा रहेको बारपाकलाई केन्द्र विन्दु बनाई वि.सं. २०७२ बैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । उक्त भूकम्पकोकारण ३२ जिल्लामा धनजन, संरचनाहरु, निजी घर, सार्वजनिक भवनहरु, एतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु नेक्सान भएका थिए । ३२ मध्येका १४ जिल्लालाई बढी क्षति भएकाले अतिप्रभावित जिल्लाकोरुपमा वर्गिकरण गरिएको थियो । जस अन्तर्गत मकवानपुर जिल्ला पनि एक अतिप्रभावित जिल्लाकोरुपमा वर्गिकृत छ । राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार उक्त भूकम्पबाट नेपालभरीमा ७०० अरबको क्षति भएको थियो । त्यसैगरी सरकारी तथ्यांक अनुसार भूकम्पकोकारण ८८५६ जनाको असामयिक निधन र २२३०७ जना घाइते, ८८७३५६ निजी घर, ६३३० सरकारी भवन, ८३०८ शिक्षण संस्था, ९६३ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको थियो । यसबाहेक पुरातात्विक महत्वका र अन्य संरचनाहरुमा पनि क्षति पुगेको कार्यक्रममा जानकारी गराइएको थियो । उक्त भूकम्पको समयमा निजी क्षेत्रले पु-याएको योगदानबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

 

Earthquake program2



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback