News & Events »

मकवानपुर जिल्ला औद्योगिक हव बन्न सक्छ, महासंघ अध्यक्ष पाण्डे (२०७१/११/१९)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकको केन्द्र भागमा रहेको मकवानपुर जिल्ला औद्योगिक हव बन्न सक्ने बताउनु भएको छ । वारा, पर्सा र मकवानपुर जिल्लालाई लक्षित गरी अगाडी बढाइएको काठमाडौं-निजगढ फास्ट ट्रया्क, काठमाडौं-हेटौंडा सुरुङ मार्ग लगायतका परियोजना र राजधानीबाट सवैभन्दा नजिकमा रहेको र भारतीय नाकाबाट पनि नजिकमा रहेका कारण आगामी दिनमा यो जिल्ला औद्योगिक हव बन्ने उहांले स्पष्ट पार्नुभयो । 

उहांले मकवानपुरको विकासका लागि दुईवटै फास्ट ट्रयाक जरुरी रहेको भन्दै मकवानपुर काठमाडौं जोड्ने दक्षिणकालीको वाटोको स्तरोन्तीका लागि समेत महासंघले पहल गर्ने वताउनु भयो । २०२२ सालदेखि संचालनमा आएको मकवानपुर औद्योगिक क्षेत्रलाई विस्तार गरी अझ बढी उद्योग एवं लगानी आकर्षण गर्नुपर्ने खांचो उहांले औल्याउनु भयो । 

मकवानपुर उद्योग वाणिज्य संघमा राजकुमार न्यौपानेको अध्यक्षतामा बनेको  नवनिर्वाचित कार्यसमिति टिमलाई महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले मकवानपुरको पूर्वाधार विकासमा महासंघले सहयोग गर्ने विश्वास दिलाउनु भयो । नेपाललाई सन् २०२२ सम्म विकासोन्मुख स्तरमा लैजाने मुलुकको लक्ष्यलाई सफल पार्न सवैको सहयोग अपरिहार्य रहेको भन्दै अध्यक्ष पाण्डेले सदस्य संघहरुलाई आआफना क्षेत्रबाट अग्रसर भएर लाग्न आग्रह गर्नुभयो । मकवानपुर उवासंघको नयां टिमले अगाडी सारेका योजनालाई सफल पार्न महासंघका तर्फबाट सक्दो सहयोग रहने विश्वास समेत अध्यक्ष पाण्डेले दिलाउनु भयो । सो अवसरमा अध्यक्ष पाण्डेले मकवानपुर उवासंघको नवनिर्वाचित टिमलाई महासंघमा खादा ओढाई स्वागत समेत गर्नुभयो । 

महासंघका पूर्व अध्यक्ष विनोद बहादुर श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले मकवानपुर जिल्ला औद्योगिक नगरि भएकाले यस क्षेत्रमा उद्योग तथा लगानी विस्तारमा संघले थाल्ने हरेक प्रयासमा महासंघको सहयोग रहने विश्वास दिलाउनु भयो । महासंघका उपाध्यक्ष किशोर प्रधान र दिनेश श्रेष्ठले स्थानीय उद्यमी व्यवसायीले कर राजस्व लगायतमा भोग्नु परेका समस्या समाधानमा महासंघले निरन्तर पहल गरिरहेको र महासंघकै आग्रहमा सरकारले गठन गरेको कर फछर्यौंट आयोग मार्फत पनि साना व्यवसायीको समस्या संवोधनमा सहयोग हुने बताउनु भयो । 

मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, कार्य समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासंघ आउनु भएका सो संघका अध्यक्ष राजकुमार न्यौपानेले औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि निर्वाध उर्जा, सुमधुर श्रम तथा बन्द हड्ताल मुक्त तीन महत्वपूर्ण आधार भएकाले यी कुराहरुको सुनिश्चितताका लागि महासंघले सहयोग गर्न आग्रह गर्नुभयो । मकवानपुर जिल्लालाई बन्द हड्ताल मुक्त जिल्लाको रुपमा घोषणा गर्ने कार्यमा संघले पनि निरन्तर प्रयास गरिरहेको जानकारी गराउनु भयो । 

मकवानपुर जिल्लामा नाइजेरियन कम्पनीको लगानीमा ठूलो सिमेन्ट उद्योग ल्याउने प्रयास भैरहेको उहांले जानकारी गराउनु भयो । उहांले लगानीमैत्री श्रम ऐन ल्याउन पनि महासंघलाई सक्रिय पहलको लागि आग्रह गर्नुभयो । जिल्लामा रहेका कर तथा राजस्वका समस्याबाट ससाना व्यवसायीहरु आक्रान्त भएकाले त्यस्ता समस्या समाधानमा महासंघको सहयोगको आबस्यक्ता औल्याउनु भयो । उहांले हेटौंडा औद्योगिक क्षेत्र विस्तार पछि औद्योगिक क्षेत्रभित्र थप एक सय उद्योगहरु विस्तार हुने जानकारी गराउदैं मकवानपुरलाई औद्योगिक जिल्ला वनाउन महासंघले पहल गर्नुपर्ने सुझाव दिनु भयो । काठमाडौं-हेटौंडा सुरुङमार्गलाई सफल पार्न महासंघले नेतृत्व लिनुपर्ने भन्दै यस परियोजनालाई सफल पार्न आफ्नो संघले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहांले मकवानपुरको पर्यटन विकास, फाखेल सिस्नेरी मार्ग स्तरोन्नतीमा सहयोगका लागि समेत आग्रह गर्नुभयो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback