News & Events »

आठौं महिला उद्यमी मेला २०७६ चैत्र १६ गतेबाट

मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत गठित महिला उद्यमी विकास समितिले आठौं महिला उद्यमी, कृषि व्यापार तथा पर्यटन मेला २०७६ आयोजना गर्ने सम्बन्धमा २०७६ फागुन १८ गते पत्रकार सम्मेलनको कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । सम्मेलनमा महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यले महिला उद्यमशीलतको प्रबर्द्धन गर्ने मुख्य उद्देश्य रहेको यस मेलामा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
मकवानपुर उद्योग वाणिज्य संघले जिल्लामा रहेका सम्पूर्ण महिला उद्यमीहरुलाई संगठित गराउन वि.सं २०५३ सालमा महिला उद्यमी विकास समिति गठन गरी हालसम्म क्रियाशिल गराउंदै आएको छ । गठित समितिले स्थापनादेखि नै मकवानपुरमा छरिएर रहेका महिलाहरुको सिप र कलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दैे आएको छ । जसअन्तर्गत महिला उद्यमी मेला, ह्याण्डीक्राफ्ट शो, महिला उद्यमी, व्यापार, कृषि तथा पर्यटन मेलाहरु आयोजना गरी आर्थिक विकासमा टेवा पुर्याउने प्रयत्न गर्दै आएको छ । महिला उद्यमी विकास समितिले यसअघि विभिन्न नाममा ७ (सात) वटा मेलाहरु सम्पन्न गरिसकेको छ । यसै सन्दर्भमा यहि मिति २०७६ चैत्र १६ गतेदेखि २२ गतेसम्म हेटौंडा–२ स्थित पल्पसा सभागृहमा आठौं महिला उद्यमी, कृषि व्यापार तथा पर्यटन मेला २०७६ आयोजना गरिएको सभापति बैद्यले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
मेलामा मुख्यतया महिला उद्यमीहरुको उत्पादनलाई प्राथमिकता दिइने र साथसाथै कृषि, व्यापार तथा पर्यटनसंग सम्बन्धित विषयहरुलाई महत्वका साथ स्थान दिइने सभापति वैद्यले बताउनु भयो । जिल्लाको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटनसमेतलाई जोडी स्मारिका प्रकाशन गरिनेछ । देशभरीका १११ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा त्यहांका महिला उद्यमीहरुलाई यस मेलामा स्टल राख्न प्रोत्साहित गरिदिन अनुरोध गरेको उहांले बताउनु भयो । आर्थिक अवस्था कमजोर भएकैकारण स्टल बुक गर्न असम्भव नहोस् भन्ने उद्देश्यले करिव ५५ वटा बन्ने कुल स्टलमध्ये बढीमा १० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ । कृषि उत्पादन र हस्तकलाको स्टलवापत रु. ३,०००।–, शैक्षिक, बैंकिङलगायतको स्टल रु. ४,०००।– र उद्योगको उत्पादनहरुको स्टल रु. ५,०००।– र होटलको रु.७,०००।– दर कायम गरिएको सभापति वैद्यले जानकारी गराउंनु भयो । मेलाको आकर्षणकोरुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । साथै मेलाको समयमा बृहत महिला उद्यमी भेला तथा विचार गोष्ठीहरु पनि अयोजना गरिनेछ । मेलामा आयोजकको रु. ११ लाख खर्च हुने अनुमान गरिएको छ भने सो खर्च व्यवस्थापनको लागि स्रोतको खोजीमा दाता निकायहरुसंग परामर्शमा रहेको सभापति वैद्यले बताउनु भयो ।
संघका कार्यवाहक अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कार्यसमिति सदस्यहरु राजाराम कार्की, कृष्ण ढुंगाना, कुल प्रसाद चौलागाई, प्रतिमा श्रेष्ठ, निलम पाण्डेलगायत महिला उद्यमीहरु र पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो । पत्रकारहरुको जिज्ञासा उपर सभापति वैद्य र कार्यवाहक अध्यक्ष माधव न्यौपानेले जवाफ दिनुभएको थियो ।

8th Women Entrepreneur Fair 2076



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback