News & Events »

साँसदसँग छलफल । हेटौंडा, माघ १८

मकवानपुर उद्योग वाणिज्य संघले आज मकवानपुरका प्रतिनिधि तथा प्रदेश साँसदहरुसँग छलफल गरेको छ । सरकारले देशका सातै प्रदेशको अस्थायी राजधानी तोकेसँगै हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी तय गरेपछि आगामी दिनमा राजधानीलाई व्यवस्थित बनाउन निजी क्षेत्रको भूमिकाको विषयमा सो छलफल गरेको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले राजधानी स्थान्तरणका लागि मात्र मतदान प्रकृया पूरा गर्नुपर्ने भएकोले सरकारले हाल तय गरेका राजधानी नै स्थायी राजधानी भएको बताएका छन् । छलफल कार्यक्रममा अर्का प्रतिनिधि सभा साँसद कृष्णप्रसाद दाहालले आफ्नो दल हेटौंडा राजधानीका लागि सकारात्मक रहेको बताएका छन् ।
आज भएको छलफल कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले आफ्नो दलले हेटौंडालाई समर्थन नगरे दल नै परित्याग गर्न सक्ने चेतावनी दिएका छन् भने अर्का प्रदेश सभा सदस्य डोरमणी पौडेलले सबै निजी क्षेत्रले यहाँ राजधानीका लागि सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् । छलफल कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, जुनेलीमाया श्रेष्ठ, सन्तबहादुर चेपाङ्गको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, होटल एशोसियसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा खरेल, नेकपा माओवादी केन्द्रका प्रकाश पाण्डेको उपस्थिति थियो भने संघका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य सहित जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
महासचिव प्रमोदसिंह रानाभाटले सञ्चालन गरेको छलफल कार्यक्रमलाई संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले समापन गरेका थिए ।