News & Events »

संघले भ्रमण टोलीको स्वागत गर्यो । हेटौंडा, श्रावण २५

मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडामा पोखरा उद्योग वाणिज्य संघको अध्ययन भ्रमण टोलीसँग उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रको समृद्धिका विषयमा अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा उवासंघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन विकासका लागि मकवानपुरको उत्तरी क्षेत्र अनुकूल रहेको र त्यस क्षेत्रको पर्यटकीय विकासमा पोखरा उवासंघले मकवानपुर उवासंघसँग सहकार्य गर्न चाहेको बताएका छन् । कार्यक्रममा अध्यक्ष पालिखेको भनाई छ, “पर्यटन क्षेत्रको विकासका लागि सम्बन्धित निकायलाई घच्घच्याउने कार्यको नेतृत्व मकवानपुरले गरेमा हामी साथ दिन तयार छौं ।” कार्यक्रममा बोल्दै मकवानपुर उवासंघका अध्यक्ष न्यौपानेले औद्योगिक नगरीको रुपमा रहेको मकवानपुरमा पोखरेली व्यवसायीलाई उद्योग स्थापनाका लागि आग्रह गरेका छन् । संघको सचिवालयमा विशेष कार्यक्रमका बीच भ्रमण टोलीको स्वागत सहित शुरु भएको कार्यक्रममा पोखरा उवासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, मकवानपुर उवासंघका पदाधिकारी, कार्यसमिति सदस्यहरु लगायको उपस्थिति रहेको थियो । कार्यक्रमलाई मउवासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले आफ्नो मन्तव्य सहित समापन गरेका थिए । सो कार्यक्रममा दुवै जिल्लाको पर्यटकीय दृश्य अंकित मायाको चिनो एक–अर्कामा साटासाट गरिएको थियो ।