News & Events »

संघले आयोगसँग छलफल गर्यो । हेटौंडा, आषाढ १८

मकवानपुर उद्योग वाणिज्य संघले आज राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सिमेन्ट उद्योग पहुँच मार्ग विषयमा छलफल गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्र्यक्रममा योजना आयोगका उपसचिव चित्राङ्गत बरालले उद्योगहरुका लागि बनाईएका सडकहरुको अवस्था र यसले पारेको प्रभावका विषयमा प्रतिवेदन तयार गर्न आफूहरुको समूह मकवानपुर आएको बताएका छन् ।
छलफल कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कटुवालले सिमेन्ट उद्योगले खानी प्रयोग गर्दा वातावरणीय प्रभावलाई ध्यान नदिएकोले आगामी दिनमा यस प्रति आयोगको ध्यान जानुपर्ने र स्थानीय नागरिकलाई उनीहरुको क्षमता अनुसार प्रभावकारी माथिल्लो ओहोदामा समेत उद्योगले रोजगार दिनैपर्ने वातावरण श्रृजना गर्नु पर्ने बताएका छन् ।
छलफल कार्यक्रममा जिल्ला सकन्वय समितिका सामाजिक अधिकृत रामकृष्ण थापाले उद्योगले सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख चन्दन कुमार अमात्यले उद्योगहरुले कानूनीरुपमा मापदण्ड पूरा गरेको वा नगरेको विषयमा अनुगमन आवश्यकता रहेको बताएका छन् । छलफल कार्यक्रममा संघका कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, सचिव दिवस पराजुली, सदस्य काव्यमणी अधिकारी, सञ्चाकर्मी पुष्पराज अधिकारी लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका योजना अधिकृत खड्गराज राई, शाखा अधिकृत सुरेश सुवेदी लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय योजना आयोगले बर्षेनी आफ्ना योजना अन्तर्गतका भौतिक संरचनाको प्रभावका बारेमा अनुगमन पछि सरकारलाई सो विषयमा प्रतिबेदन बुझाउने गर्दछ ।