News & Events »

संघको व्यापार मेला कात्तिकमा हुने, चौलागाई सचिवमा मनोनित । हेटौंडा, जेष्ठ १६ ।

मकवानपुर उद्योग वाणिज्य संघले प्रत्येक दुई वर्षमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्ष आउदो कात्तिक ८ देखि १९ गतेसम्म हेटौंडामा गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आज वसेको कार्यसमितिको वैठकले सो निर्णय गरेको हो । उद्योग व्यवसायलाई अझ बढी प्रवद्र्धन तथा विकासको लागि संघले मेलाको आयोजना गर्दै आएको छ । सो व्यापार मेलामा सदा जस्तै राष्ट्रिय स्तरका उत्पादन, कृषि, पर्यटन, कला सस्कृति लगायत ख्याती प्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीका साथै थप रचनात्मक कार्यक्रमहरु समाबेश रहने संघका अध्यक्ष न्यौपानेले बताएका छन् ।
    यसै गरी संघको हालै संशोधित विधान बमोजिम रिक्त रहेको एशोसियट तर्फको सचिवमा संघका कार्यसमिति सदस्य उज्वल चौलागाईलाई मनोनित गरिएको छ । सञ्चार उद्यमीकारुपमा समेत चौलागाई परिचित छन् । साथै वैठकले संघको ५१ औं वार्षिक साधारण सभा तथा अधिवेशन २०७४ पौष २८, २९ र ३० गते गर्ने निर्णय समेत गरेको छ ।