News & Events »

संघको पहलमा मजदुर समस्या समाधान । हेटौंडा, माघ १८

मकवानपुर उद्योग वाणिज्य संघको पहलमा हेटौंडा औद्योगक क्षेत्र भित्र रहेको बफेलो क्वालिटी फुड प्रा.लि.मा कार्यरत सुरक्षा गार्डहरुले पारिश्रमिक पाएका छन् । हाल बन्द अवस्थामा रहेको सो उद्योगमा कार्यरत ४ जना सुरक्षा गार्डहरुले केही दिन अघि उद्योगबाट आफूले पाउनु पर्ने पारिश्रमिक नपाएको भन्दै संघको लिखित रुपमा ध्यानाकर्षण गराएका थिए । संघका तर्फबाट बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले निरन्तर उद्योग सञ्चालकसँग विभिन्न चरणमा गरेको वार्ता पछि उद्योगले उनीहरुलाई पारिश्रमिक दिएको हो । ४ जना सुरक्षा गार्डको कूल करीब ८ लाख मध्ये ४ लाख नगद र बाँकी ४ लाख आगामी फागुन १५ गते चेक मार्फत भुक्तान हुने गरी प्रत्येक सुरक्षा गार्डलाई सो बाँकी रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।
    यसै गरी बिहीबार बेलुका संघमा गरिएको सहमति अनुसार ४ जना सुरक्षा गार्डलाई उद्योगले पारिश्रमिक बाहेक दिने बोनस रकम प्रति व्यक्ति २० हजार समेत उद्योग सञ्चालन भएको ३० दिन भित्र उपलब्ध गराउने भएको छ । पारिश्रमिक भुक्तान पछि उद्योग सुरक्षाको लागि लगाईएको तालाको साँचो संघको रोहबरमा उद्योग प्रतिनिधिलाई प्रदान गरिएको थियो । छलफलमा उद्योगका तर्फबाट नारद कार्की, अखिल नेपाल ट्रेड युनियन महासंघका रामशरण घिमिरे, संघका उपाध्यक्ष गणेश भेटुवाललगायतको उपस्थिति रहेको थियो । सो उद्योग ३० महिना देखि बन्द रहेको छ ।