News & Events »

महिला उद्यमीहरुको राष्ट्रिय अन्तक्र्रिया ३७ बुंदे प्रतिबद्धता पत्र सहित आज सम्पन्न । हेटौंडा । आषाढ २४

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हिजो आषाढ २३ बाट शुरु भएको महिला उद्यमीहरुको राष्ट्रिय अन्तक्र्रिया ३७ बुंदे प्रतिबद्धता पत्र सहित आज २४ गते सम्पन्न भएको छ । देश भरीबाट ३९ बटा उद्योग वाणिज्य संघमा आबद्ध करीब १२० जना महिला उद्यमीहरुको भेलाको छलफलबाट आएका उद्यमशीलता विकासका लागि प्रतिबद्ध पत्र महासंघ मार्फत सरकारलाई कार्यान्वयनका लागि दबाब श्रृजना हुने कार्यक्रमकी अध्यक्ष एवम् महासंघको महिला समितिकी सभापति कमला श्रेष्ठको धारणा रहेको थियो । महिलाहरुका लागि विशेष कर लगायत उद्योग स्थापनामा ५० प्रतिशत सम्मको छुट, व्यवसायिक तालिम, संविधानमा महिलाहरुका लागि बिशेष व्यवस्था रहेको धारा ५१, ५२, ५९ को १ को संवैधानिक व्यवस्थालाई समेत व्यवहारिक रुपमै लागू गर्न सरकारलाई ध्यानाकर्षण लगायतका बुँदाहरु उल्लेख गरिएका छन् । औद्योगिक नीति २०६७ ले पनि महिला उद्यमीहरुको लागि विशेष सहुलियतको व्यवस्था गरेको छ भने औद्योगिक व्यवसाय ऐन २०७३ मा समेत महिला हरुको लागि सुविधा रहेको छ ।
हिजोबाट शुरु भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर एवम् प्रमुख अतिथि हरिबहादुर महतले स्थानीय रुपमा कार्यान्वयन गर्न सक्ने विषय आफूसम्म आएमा तत्काल लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मीना लामाले आफू महिला भएकै कारण पनि महिला उद्यमीहरुका लागि गरिने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएकी थिईन् ।
हाल नेपालका साना ठूला उद्योग गरि करीब २ लाख उद्योग महिलाहरुले सञ्चालन गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । कार्यक्रममा महासंघका केन्द्रिय सदस्यहरु सल्लाहकार तथा मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य,मउवासंघ महिला सभापति निलम पाण्डे, पूर्व अध्यक्ष, सल्लाहकार, महिला समितिका सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।