News & Events »

मनहरी र राक्सिराङ्ग सडक सञ्जालमा जोड्ने अध्यक्षहरुको योजना । हेटौंडा, आषाढ ३

मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समिति मनहरीले आज मनहरी र राक्सिराङ्ग गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको मनहरीमा स्वात तथा सम्मान गरेको छ । पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको अध्यक्षता र संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, राक्सिराङ्ग गाउँपालिका प्रमुख राजकुमार मल्ललगायत गाउँपालिकाका वडा अध्यक्षहरुलाई स्वागत सम्मान गरिएको थियो ।
पश्चिमी क्षेत्र सभापति रिजालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका प्रमुख राजकुमार मल्लले आफ्नो क्षेत्र लागूऔषध गाँजा खेतीहुने क्षेत्रको रुपमा चिनिएकोले यसको विकल्पमा सरकारले स्थानीय जनतालाई सीप, रोजगार दिनुपर्ने र यसका लागि आफूले जिल्ला स्तरका निकायमा प्रस्ताव लगिसकेको बताएका छन् । कार्यक्रममा मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेतीले नमूना मनहरी बनाउने अभियानमा व्यवसायीहरुको समेत भूमिका रहने र तामा तथा माछाको चिनारी बोकेको मनहरीलाई सो चिनारी मर्न नदिन सबै जना एकजुट हुनु पर्ने बताएका छन् । मनहरी गाउँपालिका व्यवस्थित गर्न अब बन्ने नयाँ संरचना नियमानुसार दर्ता, नक्शा पास गरेर मात्र बनाउने कार्यको थालनी केही दिनबाटै शुरुगर्ने बताएका छन् ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्षहरुले मनहरी र राक्सिराङ्गलाई आर्थिक रुपमा सवल बनाउन सडक सञ्जालको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवम् संघका अध्यक्ष न्यौपानेले गाउँपालिकाले आफ्ना विभिन्न समितिमा व्यवसायिक प्रतिनिधिलाई समेत समेत समाबेश गर्न आग्रह गरेका छन् । महासचिव रामचन्द्र उप्रेतीले सञ्चालन गरेको कार्यक्रमलाई समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदीले समापन गरेका थिए । सम्मान कार्यक्रममा ईलाका प्रहरी कार्यालय, मनहरीका प्रहरी निरीक्षक चित्र घले, मनहरी सेक्टर वनका राकेश चन्द्रबंशी, संघको पश्चिमी क्षेत्र समितिका पदाधिकारी महिला समितिका सभापति अनिता कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।