News & Events »

मनहरीमा कर शिविर सम्पन्न । मनहरी, भाद्र ५ ।

मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आज मनहरीमा एकदिने कर शिविर सम्पन्न गरिएको छ । संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत, पश्चिमी क्षेत्रका सभापति गोविन्द रिजाल सहितको उपस्थितिमा शुरु गरिएको शिविरमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका सेवाहरु प्रवाह गरिएको थियो । शिविरमा राजश्व कार्यालयबाट कर अधिकृत डिल्लीराम चौलागाई, घरेलु कार्यालयबाट प्रमुख प्रशिक्षक कृष्ण कुमार श्रेष्ठ, संयुक्त वडासचिव ठाकुर बर्तौलासहितको टोलीले स्थानीय व्यवसायीहरुलाई सेवा प्रदान गरेका थिए । सो शिविर व्यवसायीहरुको सुविधालाई ध्यानमा राखी सम्बन्धित निकायसँगको सहयोगमा कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष न्यौपानेले बताएका छन् । शिविर मकवानपुरको पश्चिमी क्षेत्रका व्यवसायीहरुका लागि प्रत्येक बर्ष झै घरदैलो सेवाको निरन्तरता रहेको समितिका सभापति रिजालले जनाएका छन् ।
आज सम्पन्न गरिएको शिविरमा समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष गणेश मानन्धर, सदस्य गगन कर्माचार्य, रामचन्द्र बर्तौला, बेदमणी सेढाईं लगायतले व्यवसायीहरुलाई सहजीकरण गरेका थिए । आजको शिविरमा राजश्व कार्यालयमा २२ वटा नयाँ व्यवसायी पान दर्ता, अन्तशुल्क नविकरण ६ वटा, व्यवसायिक आय विवरण ११८ जनाले बुझाएका छन् । त्यसै गरी ३२ वटा घरेलु कार्यालयमा वाणिज्य व्यवसायी दर्ता भएका छन् भने संघका १०२ जनाले सदस्यता नविकरण र ३० जनाले संघको नयाँ सदस्यता लिएको समितिका कोषाध्यक्ष कृष्णहरी बर्तौलाले जानकारी गराएका छन् ।