News & Events »

मकवानपुरमा अदुवा प्रशोधन उद्योग खुल्ने । हेटौंडा, आषाढ २६ ।

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा केही समय पछि मकवानपुरको हेटौंडामा सञ्चालन हुन गईरहेको मकवानपुर अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा एक जिल्ला एक उत्पादन कार्यक्रमका संयोजक गुणनिधि तिवारीले मकवानपुरमा जस्तै सरकारको अनुदानमा रहेका उद्योग सञ्चालनका लागि व्यवहारिक तथा कानुनी प्रकृयाका सम्बन्धमा आगामी दिनमा महासंघले गर्नुपर्ने भूमिकाको विषयमा सञ्चालकहरुसँग छलफलका लागि मकवानपुर आएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरलाई अदुवा उत्पादनमा आत्म निर्भर बनाउने अभिप्रायले उद्योग सञ्चालनमा आउन लागेको संघका अध्यक्ष राजकुमार न्योपानेले बताएका छन् ।  
छलफल कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको यस अदुवा प्रशोधन उद्योग नेपालकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफल कार्यक्रममा कार्यक्रम अधिकृत अरुण श्रेष्ठले एक जिल्ला एक उत्पादनको उद्देश्यमा सहभागीहरुको जिज्ञासाको समाधान गरेका थिए । छलफल कार्यक्रममा प्रशोधन उद्योगका अध्यक्ष उत्तम शर्मा ढकाल, संघका महासचिव महेन्द्र राउत, अदुवा उत्पादक संघ मकवानपुरका अध्यक्ष गोपाल गौतम, प्रशोधन उद्योगका सञ्चालक चिरञ्जिवी कुँवर, प्रकाश ढकाल, राजेन्द्र थोकर, क्षेत्र बहादुर थिङ्ग, संघका कार्यक्रम अधिकृत देवराज पन्त लगायतको सहभागिता रहेको थियो । सरकारको समेत अनुदान गरी करीब ५ करोड बराबरको लगानीमा आउँदो आर्थिक बर्ष भित्र संघको अगुवाईमा हेटौंडा औद्योगिक क्षेत्रमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउने बताईएको छ भने संघकै पहलमा मकवानपुरको उत्तरी क्षेत्रमा एक गाउँ एक उत्पादन अन्तर्गत किवी उत्पादन हुदै आएको छ ।