News & Events »

पर्यटन विकास आफ्नो प्राथमिकतामा रहेको मेयर विष्टको भनाई । महिला उद्यमीले ज्ञापनपत्र जिल्ला प्रशासनमा बुझाए । हेटौंडा आषाढ ४

मकवानपुर उद्योग वाणिज्य संघले आज थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको स्वागत तथा शुभकामना कार्यक्रम गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको शुभकामना कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि सर्वसुलभ सडक, पानीको समुचित विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । करीब २७ हजार मतदाता रहेको थाहानगर पर्यटकीय क्षेत्र रहेकोले उद्योग वाणिज्य संघ जस्ता व्यावसायिक संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले उवासंघ मार्फत सामाजिक कार्य अघि बढाएकाले जनताले आफूलाई विश्वास गरी विजयी गराएको समेत धारण व्यक्त गरेका छन् । संघका उपाध्यक्ष समेत रहेका नगर प्रमुख विष्टले उद्योग वाणिज्य संघ राजनैतिक रुपमा एक तटस्थ संस्था रहेको र आफू राजनैतिक रुपमा व्यस्त रहनु पर्ने भएको कारण केही दिनमा नै नैतिक रुपमा आफूले उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य समेत रहेका नगर उप–प्रमुख गोपालीले आफूहरुलाई संघबाट दिईएको शुभकामनाका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालद्वारा समापन गरिएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जीवन काजी माकजू श्रेष्ठ, थाहानगर उवासंघका अध्यक्ष कविराज खत्री, संघका सल्लाहकार, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, उपाध्यक्ष कृष्ण अग्रवाल, सचिव उज्वल चौलागाई, दिवस पराजुली, महिला समिति सभापति निलम पाण्डे, संघका कार्य समिति सदस्यहरु, कर्मचारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
    यसै गरी आज हेटौडामा महोत्तरीकी सौन्दर्य व्यवसायी माथि बलात्कार गर्ने अपराधी माथि कानूनी कार्वाहीको लागि दबाब स्वरुप महकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको अगुवाईमा जिल्ला प्रशासन मकवानपुर मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । गत जेष्ठ २८ गते महोत्तरीको औरही वडा नम्बर ३ की एक सौन्दर्य व्यवसायी माथि बलात्कारका दोषीहरुलाई कार्वाही नभएको भन्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र सहित गएको व्यवसायी महिलाहरुले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु कुमार महतलाई आफ्नो माँग सहितको ज्ञापनपत्र बुझाएको छ ।
    संघको  सचिवालयबाट ब्यानर र र्याली सहित जिल्लामा सौन्दर्य व्यवसाय गर्ने संस्थाहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डे, राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी मनु लामा, नेपाल व्युटीसियन संघकी अरुणा सिंह, घरेलु संघ, मकवानपुरकी गीता कडरिया लगायत सौन्दर्य व्यवसायीहरुको सहभागिता रहेको थियो ।