News & Events »

निजी घर जग्गाको मुआब्जा दिनुपर्ने । हेटौडा, पौष १७ ।

पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ मीटर सडक विस्तार गर्ने क्रममा मकवानपुरको हेटौडा बजार क्षेत्रमा रहेका निजी घरटहरा भत्काउनु अघि उचित क्षतिपूर्ति दिएर मात्र भत्काउनु पर्ने भन्दै आज यहाँका उद्योगी व्यवसायी तथा घरधनीहरुले मध्यमाञ्चल क्षेत्रीय कार्यालय, हेटौडामा ज्ञापन पत्र बुझाएका छन् । र्यालीमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय व्यवसायी, घरधनीहरुको सहभागिता रहेको थियो । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद के.सी.लाई ज्ञापनपत्र बुझाउदै उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले आफूहरु विकास विरोधी नभएको तर बजारमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीलाई अन्य स्थानमा स्थान्तरण र घरधनीहरुलाई मुआब्जाका लागि सरकारले पहल गरोस् भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाएको बताउनु भएको छ । संघका अध्यक्ष न्यौपानेले आजसम्म सरकारलाई कर तिरीरहेको, नगरपालिकाले घरबहाल कर उठाईरहेको र सबै घरधनीसँग आज सम्म लालपूर्जा रहेको अवस्थामा भएकोले सरकारले निजी घरजग्गा लिनुपरेमा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने जनताको कानूनी अधिकार समेत रहेको जीकिर गर्नु भएकोछ ।  

 सडक ज्ञिापन पत्र बुझ्दै क्षेत्रीय प्रशासक के.सी.ले सडक विस्तार सरकारको प्राथकितामा रहेकोले विस्तारको काम नराकिने तर मुआब्जाको विषयमा सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताउनु भएकोछ । साथै के.सी.ले प्रशासनले सदैव नागरिकको हितमा काम गर्ने समेत विश्वास दिलाउनु भएको थियो । एक अर्को सन्दभएमा क्षेत्रीय प्रशासक के.सी.ले घरधनी तथा व्यवसायीले उठाएको मुआब्जाको विषयलाई प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ ।
केही दिन देखि स्थानीय प्रशासनले सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा राजमार्गको २५ मीटर भित्र पर्ने सरकारी भवनहरु भत्काउने कार्य अघि बढाई सकेकोछ । राजमार्गको २५ मीटर भित्र पर्ने घरजग्गाको जिल्ला मालपोत कार्यालय, नगरपालिकाको सम्पत्ति कर लगायतमा सरकारले राजश्व उठाउदै आएकोछ भने मालपोत कार्यालयबाट घरजग्गा किनबेच समेत हुदै आएकोछ । हाल हेटौडा बजार क्षेत्रमा रहेका करीब ४ हजार व्यवसायीहरु रहेका छन् भने कतिपय घरधनीहरुका सबै घरजग्गा २५ मीटर भित्र परेका छन् । र्यालीमा स्थानीय व्यवसायी, घरधनी लगायतको सहभागिता रहेको थियो ।