News & Events »

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण, हेटौंडा, कार्तिक २० ।

मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा आयोजित २ महिने ब्युटी पार्लर र १ महिने उलन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले संघमा आज भएको एक विशेष कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको हो । गत श्रावण पहिलो साताबाट सञ्चालन भएको सो प्रशिक्षणमा करीब ३ दर्जन महिलाहरुको सहभागिता रहेको थियो । समितिकी सभापति निलम पाण्डेको अध्यक्षतामा भएको सो प्रमाण पत्र वितरण कार्यक्रममा उपमेयर लामाले आफूले सिकेका सीप लिएर आएमा उद्यमशीलताको लागि उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले संघले महिलाहरुका लागि विभिन्न रोजगारमूलक तालिम सञ्चालन गरिरहेको र सीप सिकेर अघि बढ्न शुभकामना व्यक्त गरेका छन् । महिला उद्यमी सदस्य रीता वाईबाले सञ्चालन गरेको सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्ण कुमार गुप्ता, महासचिव महेन्द्र्र राउत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सह–कोषाध्यक्ष निलम बैद्य, सदस्य माधव न्यौपाने, अनिल अग्रवाल, समितिकी पूर्व सभापति शरिदी श्रेष्ठ, महिला समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।