News & Events »

उपभोक्ता अधिकार दिवस हेटौंडामा । हेटौंडा, चैत्र २ ।

हेटौंडा, चैत्र २ । “उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ति जीउज्यान” भन्ने मूल नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस २०७३ आज हेटौडामा मनाईएको छ । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट उपभोक्ता हक संरक्षण सम्बन्धी प्ले कार्ड सहितको र्यालीले हेटौडा बजार परिक्रमा गरी बुद्ध चौकमा दिवस तथा उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रम गरिएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बसन्त लामा, घरेलु कार्यालयका प्रमुख पुष्कर भट्टराई, मउवासंघका अध्यक्ष राजकुमार न्यौपाने, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुख, उपभोक्ता अधिकार सम्बन्धी काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले उपभोक्ताको अधिकार तथा दिवसको औचित्य उपर प्रकाश पार्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मउवासंघका अध्यक्ष न्यौपानेले आफू व्यवसायी मात्रै नभई उपभोक्ता समेत भएकोले यसको उपदेयिता प्रति संघले कार्य गरिरहेको बताउनु भएको थियो । अध्यक्ष न्यौपानेले भन्नु भयो, उपभोक्तालाई सचेत गराउने कार्यका लागि सरकारी निकायले संघलाई साथ दिन पनि आग्रह गर्नु भएको थियो । नेपाल सरकार आपूर्ति मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संका पदाधिकारी, सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा आज बुधबार दिउसो २ बजे पछि स्थानीय निकाय,संघसंस्था सहितको संयुक्त टोलीले हेटौंडा बजारमा उपभोक्ता जागरणमुखी अवलोकन गर्ने कार्यक्रम रहेको बताईएको छ ।